बिद्यालयबाट फर्कनासाथ उसले बाबासँग चेक माग्यो । ” हैन ! के भन्छ यो ? एक्कासी तँलाई किन चाहियो बाबू चेक !” आश्चर्य चकित हुँदै उनले सोधे ।
” ह्या , छिटो दिनु न के ! मलाई अहिले नै चाहिएको छ ।” उसले जिद्दी गर्दै भन्यो ।
” पहिला कारण बताऊ , अनि मात्र दिन्छु, नत्र दिन्न ।” बाबाले अलि कडा स्वरमा भने ।
” विभिन्न प्रतियोगितामा उत्कृष्ट भएर कमाएको मेरै पैशा त हो नि ! जसरी पनि चाहिन्छ ।” आक्रोस व्यक्त गर्यो, उसले । उनले धेरै सम्झाउन खोजे तर छोराको जिद्दीमा हार खाए । उनले चेक थमाइदिए ।
चेक लिएर छोरो कता गयो उनलाई पत्तो थिएन।
आँखाभरी आँसु पर्दै सोच्दै थिए । ” आखिर , यहि छोरो भनेर दोश्रो बिबाह गरिन , यसलाई डाक्टर बनाउला भन्ने कत्रो सपना थियो। अहिले सम्म त ज्ञानि थियो , पढाइ पनि राम्रो थियो । विभिन्न कार्यक्रममा उत्कृष्ट भएर पैशा पनि कमाएकै थियो।
“भोलिका दिनमा उच्च शिक्षा पढ्न चाहिन्छ भनेर आफैले बैकमा राखेको हैन ? किन बाटो बिरयो हँ ? ” आफैलाई प्रश्न सोध्न थाले । आज एक्कासी यत्रो पैशा लिएर कता गयो त ? पैशा त भोलि कमाइहाल्छु नि ! तर यसरी कुलतमा छोरो फसेपछी के गर्ने ?” मेरो जीवन बर्बाद भयो ।”
एक्कासी मोबाइलमा रिङ्टोन बज्यो ।उनले उठाए ” हेल्लो ! तपाईं गौरबको बाबा हो ! ” ” हो हजुर ! किन होला ?
” गौरब यहिं छ ,तपाईं झट्टै यहाँ चोकमा आउनु होला । ” उनी केही सोध्न खोज्दै थिए, तर फोन काटियो ।
उनलाई आकाशले थिचे जस्तो भयो , धर्ती भाषिए जस्तो भान भयो । उनलाई लाग्यो ,” कुलतमा फसेको छोरो प्रहरीको फन्दामा पर्यो अथवा कुनै असामाजिक कार्य गर्यो ।” हतार हतार उनी भनेको स्थानमा पुगे ।
त्यहाँ मानिसहरुको बाक्लै उपस्थिती भैसकेको थियो। उनले भानुभक्तको नयाँ शालिक पनि देखे । यो शालिक कसले निर्माण गरेछ उनी छक्क परेर हेर्दै थिए ।
माला र खादाले सम्मानित छोरोमाथी उनका आँखा टक्क अडिए ।बाबाका आँखा रसाएको देखेर छोराले नजिकै गएर भन्यो ।
” बाबा! चिन्ता नगर्नु तपाईंको छोरो गलत बाटो कहिल्यै हिंड्दैन । ”
“यत्रो सम्मान के का लागि पाइस त , बाबू ? ”
” जब भानुभक्तको जिवनी पढें ,त्यसपछी त्यस्ता महान ब्यक्तिको शालिक राखेर हाम्रो चोकलाई भानु चोक भनी नामाकरण गर्ने सोच आयो बाबा ।”
शान्ता तिम्सिना
भक्तपुर